काठमाडौं । भारतको बिहार राज्यको मधुवनी, सीतामढी र पूर्वी चम्पारण जिल्लामा हुन लागेको निर्वाचनका लागि भारतसँग जोडिएका मधेस प्रदेशका ६ वटा जिल्लाको सीमानाका बन्द हुने गरिएको छ ।
आगामी सोमबार मधुवनी, सीतामढी र पूर्वी चम्पारणमा मतदान हुन लागेकाले मतदानभन्दा ७२ घण्टा पहिले सीमानाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
शुक्रबार राति १२ बजेदेखि सोमबार राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द हुनेछ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटसँग जोडिएका सीमानाका बन्द भएका हुन् ।
भारतमा हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार सीमानाका बन्द गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
मधुवनीका डिएम अरविन्द कुमार वर्माले धनुषा, सिरहा, सप्तरी र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र लेख्दै केहि महिना पहिले भारतको मधुवनीमा भएको सीमा जिल्ला समन्वय समितिको बैठक अनुसार चुनावका लागि ७२ घण्टाअगावै बोर्डर बन्द गर्न आग्रह गरेका हुन् ।
यसअघि मधुवनीको झन्झारपुर संसदीय क्षेत्रमा मतदान भएको समयमा समेत ७२ घण्टाको लागि सीमानाका बन्द भएको थियो । यस्तै, जेठ १२ गते सीतामढी र पूर्वी चम्पारणमा हुने मतदानका लागि ७२ घण्टाअगावै पुनः बोर्डर सिल गरिने जिल्ला प्रशासन कार्यालय, सर्लाही र रौतहटले जनाएको छ ।




