सर्लाही । सर्लाही जिल्लाको ग्रामीण भेगमा पानीको मुहानहरू (इनार) लोप हुँदै गएको छ । विगतमा खानेपानी तथा अन्य प्रयोजनका लागि बनाइएका इनारहरू अहिले लोप हुँदै गएका हुन् ।
इनारबाट सर्वसाधारणहरूले खान, नुहाउन, भाडा माझ्न लगायतका दैनिक कामकाजका लागि पानीको उपयोग गर्ने गर्दछन् । यस्तै चाडवाडका समयमा समेत पूजापाठ गर्नुको साथै किसानहरूले उत्पादन गरेका अन्न सबैभन्दा पहिले इनारमा चढाउने परम्परा रहेको छ ।
इनारमा ढाकछोप नगर्नाले पानीमा फोहोरमैला, धुलो पस्ने भएकाले पानी प्रदूषित हुने र उक्त पानी खान नमिल्ने नयाँ पुस्ताका युवाहरूको बुझाइ छ । सोही कारण इनारको संरक्षणभन्दा चापाकल, अटोमेटिक पानी आउने धारा जडान गर्ने चलन बढेको स्थानिय बताउँछन् ।
इनारको मुहान सफा बनाई पानीको प्रयोग गर्न र इनारको संरक्षण गर्न स्थानीय सरकार अघि सर्नु आवश्यक भइसकेको छ । चापाकलको पानीको स्तर घटेकाले पानीको हाहाकार हुने गरेको बेला इनारको पानी काम लाग्ने बुढापाका बताउँछन् । फोटो : सर्लाही न्यूज




