एजेन्सी । मानिस किन लोभी हुन्छन् ? यसो सोच्दा सहज प्रश्न हो । तर जब हामी जवाफ खोज्छौं तब उत्तर दिन अत्यन्त मुश्किल छ । हामी भन्न सक्छौं, बाध्यता र परिस्थितिले लोभी बनाइदिन्छ जुन पूर्ण रुपमा गलत पनि छैन । किनभने आफ्ना हरेक इच्छा चाहना पूरा गर्न मानिस लोभी भइदिन्छन् ।
जन्म लिएपछि एकदिन छाडेर जानुपर्छ भन्ने कुरा बुद्दीमान प्राणी भएकाले मान्छेलाई थाहा छ तर पनि उनीहरु अरुलाई दोष दिँदै पारिवारिक सुखका लागि भन्दै लोभी भएको बहाना बनाइदिन्छन् ।
आज मान्छेका आवश्यकताहरु असीमित बनेका छन्, अर्काको देखासिकीमा रमाउन खोजिरहेका छन् । उनीहरु आफ्ना लक्ष्यहरु भुल्दै समयको मागलाई सम्बोधन गर्नुपर्छ भन्दै परिवर्तन भइरहेका छन् । जब हामीले कुनै गन्तव्यमा पुग्ने लक्ष्य राखेका छौं भने त्यसलाई निरन्तरता दिनु पनि त्यतिनै जरुरी हुन्छ ।
काम गरेपछि फलको आशा राख्नु स्वभाविक हो तर मान्छे सबैलाई कसरी पछाडी पार्दै आफू मात्र अघि बढ्ने भन्ने सोचमा मंग्न भइदिन्छ । सँगैको साथीले यति उपलब्धि गयौं, अब उसलाई कसरी लडाउन सकिन्छ भन्ने तर्फ उसको ध्यान जान्छ । यदि हामी मिलेर अघि बढेको खण्डमा सँगै सँगै गन्तव्यमा नपुगिने हो र ? एक पटक सबैले सोचौं त ।
यसो भनिरहँदा विचारणीय कुरा के छ भने यहाँ सबै मानिस धनी हुन चाहन्छन् । भनिन्छ लोभ नहुने मानिसको कुनै अर्थ छैन, जब मान्छे लोभी भइदिन्छ तब उसले खोजेको उपलब्धी हात पार्छ । यहाँ कोही मर्नुपर्ने कुरा नै बिर्सेर लोभी भइदिन्छन् त कोही श्रीमतीको खर्च धान्ने तनावले लोभी भइदिन्छन् ।
तपाईले सुन्नु भएकै होला, ‘लोभ नराम्रो कुरा हो ।’ जब हामी कुनै कुराको लागि लोभी हुन्छौं, तब हामी सही र गलतको बुझाइ गुमाउँछौं । पैसा वा धन प्रति आकर्षित हुनु मात्रै लोभ होइन्, कहिले काहीँ यो लोभ इज्जत, प्रतिष्ठा, सौन्दर्य वा कुनै पनि प्रकारको बाह्य वस्तुहरुसँग पनि हुन सक्छ ।
अब तपाईं आफैं सोच्नुस् त बच्चा सानो हुँदा उसको मनमा लोभको भावना हुँदैन किनभने ऊ आफूसँग जे छ त्यसैमा खुसी र सन्तुष्ट हुन्छ । तर बढ्दै जाँदा उसले सधैं धेरै चाहन्छ । आफूसँग जे छ त्यो देखेर उसले सन्तुष्टि पाउँदैन । किनकी बाल्यकालदेखि नै भन्न थालिन्छ कि परिक्षामा धेरै अंक आयो भने यो उपहार पाइन्छ जसले गर्दा हामीले सन्तुष्ट भुल्दछौं ।






