काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भारतको उडिसाका कलाकार दास र चार जना नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर शाही, धादिङ घर भई काठमाडौं बस्ने दीपक थापा, दाङ घर भई काठमाडौं बस्ने बसन्त चौधरी र काठमाडौंका रविन महर्जन रहेका छन् ।
भारतीय नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा बिक्री गरेका तर नक्कली भएको पाएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले मूर्ति र १४ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।




