सिन्धुली । सिन्धुलीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ७ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम सिन्धुलीबाट जिल्लाकै गोलन्जोर ३ ग्वाल्टारतर्फ जाँदै गरेको अटो दुर्घटना भएको हो ।
प्रदेश २-०२-००१ ह १३७१ नम्बरको अटो बन्दिजोर खोला नजिक पर्ने काप्रेमा दुर्घटना हुँदा कमलामाई नगरपालिका १३ की ३५ वर्षीया मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
अटो अनियन्त्रित भई सडकबाट झण्डै ३० मिटर तल खसेको थियो । घाइते ७ जनाको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । अटो र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




