बारा । नक्कली प्रहरी बनेर बाराको विभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका ७ बस्ने ४० वर्षीय सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले साउन ७ गते सोमबार नक्कली प्रहरी बनेका अन्सारीलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
गत भदौ ३२ गते बेलुका ४ बजेको समयमा महागढिमाई नगरपालिका ८ जोलगाँवा बस्ने वर्ष ५५ को सिताराम राय यादवको ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी दिनुस् भनि भ्रममा पारी मोटरसाईकल लिएर फरार भएका थिए ।
सोही मोटरसाईकल प्रयोग गरी जिल्लाको विभिन्न मानिसहरूसँग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको उजुरीको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




