काठमाडौं । वडा कार्यालयभित्रै दम्पतीमाथि कुटपिट भएको छ । यो घटना पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ मा भएको हो, जहाँ एक दम्पती, राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीलाई वडा कार्यालयभित्रै कुटपिट गरिएको छ ।
जग्गा सम्बन्धी विवाद समाधानका लागि वडा अध्यक्ष सन्तबहादुर गाहासँग छलफल भइरहेका बेला यो घटना घटेको हो । विवाद चर्किएपछि पार्वती क्षेत्रीलाई लक्षित गरेर अपशब्द बोलेपछि उनले दुई झापड हानेको र त्यसपछि कामु दाजुभाइले उनी र उनको श्रीमानलाई कुटपिट गरेको बताइएको छ ।
घटनापछि घाइते भएका राजबहादुरको उपचार बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा भइरहेको छ । पीडित परिवारले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपनि, शनिबार भएकोले जाहेरी दर्ता नभएको जानकारी प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले दिएका छन् ।
घटना बारे थप अनुसन्धान गरी भोली जाहेरी दर्ता गर्ने भनिएको छ । वडा कार्यालयले पनि आज एक विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक निरूपण गर्ने प्रतिबद्धता जनाएको छ ।





