काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा उनकै प्रेमीले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ । सिराहा घर भई हाल काठमाडौंको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहिबार भेटिएको थियो ।
उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका ३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका ५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो ।
अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौं ३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो । तर, रामदुलारीले अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भर्दै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बताएका छन् ।
रामविनय महरा पुलमुनि जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी मजदुरी गर्थिन् । तर घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




