विराटनगर । झापाको अर्जुनधारा ६ बिर्तामोडको शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ एक युवाले छुरी प्रहार गरेर युवतीको हत्या गरेका छन् । साँझ ६ बजेर ४० मिनेट जाँदा युवकले युवतीको हत्या गरेका हुन् ।
कैलाली गौरीगंगा नगरपालिका ३ का २० वर्षीय युवक अनिलज विकले इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीय युवती मनिषा लोहारको हत्या गरेका हुन् । युवती मनिषा विर्तामोडमै बस्दै आएकी थिइन् ।
युवतीलाई धारिलो हतियार प्रहार गरेपछि गम्भीर घाइते बनेकी थिइन् । उनको उपचारकै क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । ती युवतीलाई युवकले धेरै पटक छुरा रोपेका थिए ।
युवतीको राती ७ बजेर १० मिनेजमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भीम बहादुर दाहालले बताए । छुरा प्रहार गर्न युवालाई गाउँलेले लखेटेर पक्रेका थिए ।
उनलाई पनि गाउँलेले कुटपिट गरेर घाइते बनाएका छन् । ती युवाको पनि विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटना के कारणले भएको हो भन्ने बारेमा र युवकमाथि कुटपिट गर्ने समूहका बारेमा खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चार दिनअघि बिर्तामोडको किराँत चोकमा युवतीकै विषयलाई लिएर दुई समूहबिच ग्याङ फाइट भएको थियो । झडपमा एक जना घाइते भएका थिए भने तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।




