काठमाडौं । मकवानपुरमा पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले कैलाश गाउँपालिका ५ कालीखोलास्थित काफलडाँडाका २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई २२ वर्षीया पत्नी लक्ष्मी पाख्रिनको हत्या अभियोगमा कारागार चलान गर्ने आदेश दिएको हो ।
गत साउन ३० गते मंगलबहादुरले आफ्नै घरभित्र बन्चरोले प्रहार गरेर पत्नीको हत्या गरेका थिए । हत्या गरेपछि उनले शवलाई दुई वटा बोरामा प्याक गरी कालीखोला सामुदायिक वनको जंगलमा खाल्टो खनेर गाडेको पाइएको थियो । प्रहरीका अनुसार, अपराध लुकाउन उनले शवसँगै पत्नीका कपडाहरू पनि अर्को खाल्टोमा पुरेका थिए ।
हत्या गर्न प्रयोग गरिएको बन्चरोको बीड फुकालेर जंगलमै लुकाएका थिए । छिमेकीहरूले हत्या भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए । गाउँलेहरूको सहयोगमा प्रहरीले मंगलबहादुरलाई पक्राउ गरेको थियो ।




