उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा गत भदौ २० गते आमा र छोराको हत्या आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ । हत्या अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
३८ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापाको हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो । निर्मला थापा वडा कार्यालय नजिकै किराना पसल चलाउँदै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोलीले सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो ।
“अनुसन्धानपछि बिहिबार मात्र टोली फर्किएको हो,” प्रहरी उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए । प्रहरीको भनाइ अनुसार, घटनाको राति ताराबहादुर थापामगर निर्मला थापासँग सुतेको ठाउँमा पुगेका थिए । उनीहरूबीच विवाद भएपछि रिसको झोंकमा ताराबहादुरले खुकुरी प्रहार गरेको खुलासा भएको छ ।
खुकुरी घरबाटै बोकेर आएको र पटक पटक निर्मलालाई प्रहार गरेको पत्ता लागेको छ । छोरा आरुसले कराउन थालेपछि अभियुक्तले उनलाई पनि खुकुरीले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अभियुक्तले घटनापछि खुकुरी खोला नजिकै धोएर सुकाएको र मृतक महिलाको मोबाइल तथा आफ्नो हाफपाइन्ट पनि प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको छ ।
अभियुक्त ताराबहादुर घटना भोलिपल्ट शव परीक्षणका समयमा र दाहसंस्कारमा समेत सहभागी भएकाले शङ्का गर्न समय लागेको प्रहरी नायब उपरीक्षक चापागाईंले बताए । मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि कान्छी श्रीमती लिएर भारत गएका थिए भने अभियुक्त ताराबहादुरका एक श्रीमती, छोरा र छोरी रहेका छन् ।




