काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानले देशभरका २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । यसले हिमाली तथा पहाडी क्षेत्रका धेरै सडकमा आवागमन प्रभावित भएको प्रारम्भिक विवरणले देखाएको छ ।
सडक विभागका अनुसार राजधानीमा प्रवेश गर्ने सबै नाका बन्द भएका छन् । विभागले अझै सबै स्थानमा कर्मचारी पठाउन सकेको छैन भने विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा सम्पूर्ण विवरण संकलन गर्न कठिनाइ भएको छ ।
बाढी पहिरोले विभिन्न स्थानका पुल र सडकमा क्षति पुर्याएको छ, जसमा केही स्थानमा बेलिब्रिज बगाएको छ भने अन्य ठाउँमा पुल पूर्ण रूपमा बगेका छन् । साथै, कतिपय राजमार्गहरु पहिरोका कारण बन्द भएका छन् । काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै मुख्य मार्गहरु अहिले बन्द छन् ।
विभिन्न नदीको पानीको सतह निरन्तर बढिरहेकोले धेरै पुलहरू जोखिममा छन् । त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग लगायतका मुख्य राजमार्गहरू पहिरोले बन्द भएका छन् ।
सडक विभागका अनुसार विभिन्न सडक डिभिजन र मातहतका कार्यालयका टोलीहरू सडक सञ्चालनमा ल्याउन तयारी अवस्थामा छन्, तर निरन्तरको वर्षाले गर्दा काममा केही ढिलाइ भएको छ ।




