पश्चिम नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा सडक भासिएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ दाउन्नेको खुर्सानी खोलामा सडक भासिएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रमेश बोहोराले जानकारी दिए ।

सडक विस्तारको क्रममा निर्माण गरिएको सडक किनाराको रिर्टनिङ पर्खाल खस्नुका साथै विद्युत् हाइटेन्सन लाइनको ठूलो पोल ढलेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । होङ्सी सिमेन्ट उद्योग सर्दीका लागि विद्युत् ल्याइएको हाइटेन्सन पोल भाँचिएको हो ।
सोमबार साँझबाट सडक अवरुद्ध भएकाले पूर्व तर्फबाट पश्चिम जाँदै गरेको सवारी साधनलाई पश्चिम नवलपरासीको बर्दघाट र पुर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा नै रोकिएको छ । सडक सुचारु गराउनका लागि प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । स्रोतका अनुसार बाटो पुर्ण रुपमा सुचारु हुन दुई दिनसम्म लाग्न सक्ने जनाइएको छ ।




