तुलसीपुर । बबई गाउँपालिका ४ मा एक युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार भक्तपुर नगरकोट गाउँपालिका १४ घर भई हाल बबई गाउँपालिका ४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीय छोरा अनिल तामाङले यो घटना घटाएका हुन् ।
मंगलबार बिहान साढे नौ बजे मादक पदार्थ सेवन गरेर आफ्ना बाबुसँग विवाद भएपछि अनिलले आफैंले पेटमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना भएलगत्तै गम्भीर घाइते अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएको थियो, जहाँ बिहान पौने ११ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि अनिलका बुवा सोमार तामाङ र उनका ३१ वर्षीय दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।




