काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत भदौ २५ र २६ गते सम्पन्न पूरक परीक्षामा ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जसअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो परीक्षामा एक लाख २२ हजार १७१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये दुई जनाको परीक्षा रद्द गरिएको छ भने दुई जनाको नतिजा स्थगित गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिले सात दिनभित्र ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
यदि पूरक परीक्षाको नतिजामा असन्तुष्ट रहेर पुनर्योगका लागि आवेदन दिन चाहने परीक्षार्थीहरूले १५ दिनभित्र आवेदन दिनुपर्नेछ र प्रति विषय ५०० रुपैयाँ दस्तुर लाग्ने बोर्डले जानकारी दिएको छ ।




