नवलपरासी । नवलपुरमा गए राति धारिलो हतियारको प्रहारबाट एक युवकको हत्या भएको छ । देवचुली नगरपालिका ९ विशालटारका २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार, मानन्धरको हत्या देवचुली ९ निवासी ३० वर्षीय अर्जुन नेपालीले गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
प्रहरीले जनाएको छ कि नेपालीले मानन्धरलाई धारिलो हतियारले आक्रमण गरेपछि फरार भएका थिए । फरार नेपालीलाई खोजतलासको क्रममा राति नै कावासोती १६ डण्डाबाट पक्राउ गरिएको छ ।
मानन्धरलाई गम्भीर अवस्थामा भरतपुर अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनको निधन भयो । अहिले हत्याको कारण खुल्न सकेको छैन र प्रहरी घटनाको थप अनुसन्धानमा जुटेको छ ।




