काठमाडौं । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नेतृत्वमा मन्त्रालयलाई भूमाफियाको नियन्त्रणले अस्तव्यस्त बनाएको छ । भूमाफियाको जालमा परेपछि मन्त्री अधिकारीले कर्मचारी सरुवामा भूमाफियाको प्रभावलाई बढावा दिएको छ । मालपोत र नापी कार्यालयका कर्मचारीहरूको सरुवा भूमाफियाको डिजाइन अनुसार हुँदै आएको बताइएको छ ।
उदयपुर घर भएका विचौलिया पर्वत खड्काले मन्त्रालयमा ठूलो प्रभाव जमाउँदै मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गर्दै आएका छन् । मन्त्री र सचिवभन्दा बढी शक्तिशाली बनेका खड्का र भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा सरुवा बढुवा भइरहेको छ । मन्त्रालयमा कर्मचारीहरूको विभिन्न सेटिङ व्यवस्थापन छ, जहाँ मालदार पदमा सरुवा गर्न भूमाफियासँग सेटिङ मिलाएर कमिसन लिने चलन बढेको छ ।
असोज महिनामा मात्र १ सयभन्दा बढी उपसचिव, शाखा अधिकृत र नासुहरूको सरुवामा ठूलो आर्थिक चलखेल भएको चर्चा छ । गत असार १५ मा भूमि तथा अभिलेख विभागको महानिर्देशकका रूपमा नियुक्त भएका कृष्णप्रसाद सापकोटालाई तीन महिना नपुग्दै हटाएर नयाँ महानिर्देशक पठाउने तयारी भइरहेको छ ।
महानिर्देशक बन्नका लागि शिवप्रसाद रेग्मी, मदन कोइराला र गणेश पोखरेल लगायत दौडधूपमा छन् । मोटो रकम बुझाउन सक्ने व्यक्तिलाई महानिर्देशक बनाउने खेल चलिरहेको बुझिएको छ ।
यस्तै, शहरी विकास मन्त्रालयमा लामो समयदेखि कार्यरत जीवन सेढाईं उपसचिवमा बढुवा भएपछि भूमि मन्त्रालयमा काजमा बसेका थिए । उनले राजनीतिक दलका नेता, कार्यकर्ता र पत्रकारहरूको भीड व्यवस्थापनमा सफलता पाए । सेढाईं ललितपुर मालपोत कार्यालयमा सरुवा भएलगत्तै ‘इतिहासमै नमुना कार्यालय बनाउँछु’ भने तापनि कार्यालय लथालिङ्ग अवस्थामा पुगेको छ ।
सरकारी जग्गा र छुट जग्गा दर्तामा चलखेल भइरहेको र यसबाट हुने आम्दानी बारे ठोस विवरण प्राप्त नभएपनि सेढाईंको कार्यालय अनुपस्थिति र कामप्रतिको उदासीनता चर्चाको विषय बनेको छ । भूमि मन्त्री अधिकारी र सचिवको निरीह मौनता रहिरहेकाले सेवाग्राहीहरूलाई कठिनाइ भोग्नुपरेको छ ।




