अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउराली पूजामा प्रसादका रूपमा मासु खाएपछि बिरामी पर्नेको संख्या ३५ पुगेको छ । सन्धिखर्क नगरपालिका १ तारामार्गका दीपक केसीले आइतबार पूजा गरेका थिए, जसमा प्रसादको रूपमा मासु खाएका स्थानीय बासिन्दामा स्वास्थ्य समस्या देखिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, मंगलबार बिहान थप सात जनालाई अस्पताल भर्ना गरिएको छ । बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, र शरीर दुख्ने लक्षण देखिएको अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले जानकारी दिएका छन् । डाक्टर तिवारीका अनुसार, सबै बिरामीहरूको अवस्था सामान्य छ ।
खाना विषाक्त (फुड प्वाइजन) का कारण बिरामी परेको जनाइएको छ । हाल ३४ जना बिरामीको उपचार सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा भइरहेको छ भने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । दुई बिरामी उपचारपछि घर फर्किएका छन् भने यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




