नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिका ३ विगेपको भित्री सडकमा देउसे भैलिनीको टोली बोकेको एक पिकअप गाडी अनियन्त्रित भएर पल्टिँदा १० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूमा सुस्ता २ गुदारियाका विभिन्न उमेरका युवा र किशोर किशोरीहरू रहेका छन् ।
१६ वर्षीया सृस्ति मुखिया, १९ वर्षीया मन्जु महतो, २१ वर्षीया रेखा महतो, २१ वर्षीय बैजनाथ गुप्ता, १४ वर्षीया लक्ष्मी मुखिया, १६ वर्षीया वर्षा मुखिया, १८ वर्षीया कविता मुखिया, १५ वर्षीया तिलकुमारी मुखिया, २३ वर्षीय विवेक चौधरी, र १३ वर्षीय ईशान्त मुखिया घाइतेहरूको सूचीमा छन् ।
प्रहरीले जनाए अनुसार, गुडरियाबाट नर्सहीतर्फ गइरहेको लु ३ च ६०२२ नम्बरको पिकअप गाडी साँझ लगभग साढे ५ बजे दुर्घटनामा परेको हो । बाटोमा बाख्रा पार गर्न खोज्दा गाडी अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो ।
गाडीमा देउसे भैलिनी मनाउन निस्किएका २५ जना यात्रु सवार थिए । घाइते सबैलाई उपचारका लागि चौपत्तास्थित शहीद स्मृति सामुदायिक अस्पतालमा भर्ना गरिएको छ भने, गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




