कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुका चार जना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् । सेवाग्राहीसँग मुद्दा जिताउन सहयोग गर्ने भन्दै घुस लिँदै गरेको अवस्थामा तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्युटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाललाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।
अख्तियारको टोलीले उनीहरूलाई कपिलवस्तु तौलिहवा स्थित गौढीचोकको एक चिया पसलमा दिउँसो ३ बजे नियन्त्रणमा लिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार, अंशबण्डा मुद्दाको प्रतिवादीलाई जग्गा बाँडफाँड नगर्ने र काम रोक्ने धम्की दिँदै एक महिनादेखि तन्काउँदै आएका थिए । सेवाग्राहीलाई घुस दिन बाध्य पारेपछि उनीहरूले चिया पसलमा बोलाएका थिए ।
विशेष सुराकीका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई घेराबन्दी गरी खानतलासी गर्दा घुसको रकम बरामद गरेको हो । पक्राउ परेका कर्मचारीहरूविरुद्ध आवश्यक अनुसन्धान गरी मुद्दा दायरको प्रक्रिया अघि बढाइने अख्तियार कार्यालयले जानकारी दिएको छ ।




