कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले फरक फरक स्थानमा झुण्डिएर आत्महत्या गरेका छन् । घटनाको कारण भने खुल्न सकेको छैन । घोडाघोडी नगरपालिका ७ कीर्तिपुर निवासी १६ वर्षीय भावना बोहरा आइतबार घर नजिकैको जंगलको छेउमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउँदका अनुसार बोहरालाई रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । परिवारका अनुसार भावना कक्षा ८ मा अध्ययनरत थिइन् र उनी तीन पटकसम्म फेल भएकी थिइन् । तर, आत्महत्याको वास्तविक कारण भने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि स्पष्ट हुन सकेको छैन ।
यस्तै, घोडाघोडी नगरपालिका ५ वनखेत निवासी २१ वर्षीय सबिता चौधरीले शनिबार दिउँसो आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । विवाहित चौधरीको आत्महत्याको कारण घर र माइती पक्षबाट पनि खुल्न सकेको छैन । प्रहरीले दुबै घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।




