नवलपरासी । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औं अन्तर्राष्ट्रिय दिवस मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रमका बीच मनाइयो । सन् १९९२ देखि विश्वभर मनाइने यस दिवसको यस वर्षको मुख्य विषय “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार” थियो । नेपालमा पनि सरकारी र गैरसरकारी संस्थाले यस दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।
नवलपरासीको प्रतापपुर गाउँपालिका, वडा नं. ७ को गुठी सूर्यपुरा बजारमा आयोजित एक विशेष कार्यक्रममा बैवाहिक अपाङ्गता भएका नव विवाहित जोडीलाई सम्मानित गरियो । जन जागृति अपाङ्ग संस्था गुठी परसौनीको आयोजनामा भएको कार्यक्रममा नव विवाहित जोडीलाई सम्मान र कम्बल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हरेन्द्र कुमार यादव र विशेष अतिथि जनता प्रगतिशील पार्टीका युवा नेता राजेश प्रसाद चौधरी थिए । कार्यक्रममा हृदयेश त्रिपाठी, राजेन्द्र प्रसाद चौधरी र रोहन मेहर श्रेष्ठको ३०० कम्बलको सहयोगका साथै प्रतापपुर गाउँपालिका वडा कार्यालयको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष बच्चा राजभरले जानकारी दिए ।
यस कार्यक्रममा जनता प्रगतिशील पार्टीका क्षेत्रीय अध्यक्ष रामपृत यादव, विभिन्न वडाका अध्यक्षहरू, आयुर्वेद शाखा प्रमुख दिनबन्धु मिश्रा र अन्य स्थानीय नेताहरूको उपस्थिती रहेको थियो ।




