बर्दिया । बर्दियाको गुलेरिया नगरपालिका ४ स्थित हुलाकी सडकमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीका अनुसार दुर्घटनामा परी स्कुटर चालक ३७ वर्षीय रामकुमार साह र उनकी ६ वर्षीया छोरी विद्याको ज्यान गएको हो ।
साहको स्थायी घर सप्तरीको रुपनी गाउँपालिका भएपनि उनी गुलेरिया ६ मा बसोबास गर्दै आएका थिए । दुर्घटनामा साहकी श्रीमती रुवी र दुई वर्षीय छोरा प्रिन्स घाइते भएका छन् । बा ६८ प ७०३६ भे १ त ९०६२ नम्बरको स्कुटर ट्याक्टरमा ठोक्किँएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका रामकुमार र उनकी छोरीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने उनकी श्रीमती र छोरा बर्दिया अस्पतालमा उपचाररत छन् । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रहरीका अनुसार साह परिवार उभौली पर्व मनाउन निस्किएका थिए । साह दम्पतीले बर्दियामा विगत एक दशकदेखि काम गर्दै आएका थिए । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।




