दाङ । दाङमा माइक्रोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रोबस बिहान ६ बजे दाङको लमही नगरपालिका ९, च्याउखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा शिवराज नगरपालिकाका ४० वर्षीय एक पुरुष र ६० वर्षीया एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाग्रस्त गाडीमा १४ जना सवार थिए । तीव्र गतिका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




