धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको एक होटललाई अखाद्य वस्तु बिक्री गरेको भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेका अनुसार अनुगमनका क्रममा म्याद गुज्रेका तथा उपभोग अयोग्य खानेकुरा बिक्री गरिरहेको पाइएपछि कारबाही गरिएको हो ।
अनुगमनमा होटलमा राखिएको मासु तथा अन्य खाद्य सामग्री गनाउने अवस्थामा रहेको, सरसफाइ नगरेको र लेबलिङ समेत नभएको पाइएको थियो । प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६१ (१) अनुसार होटललाई जरिवाना गरिनुका साथै अखाद्य वस्तु नष्ट गरिएको वाणिज्य कार्यालयका प्रमुखले जानकारी दिए ।
‘हामीले नियमित अनुगमन गरिरहेका छौँ । यसअघि पनि कैयौँ होटल तथा पसलहरूलाई कारबाही र निर्देशन दिएका छौँ । निर्देशन पालना नगर्नेहरूलाई कारबाही गर्दै आएका छौँ, यो प्रक्रिया निरन्तर चल्नेछ,’ सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने ।




