काठमाडौं । नेपालका अनुभवी पत्रकार श्यामसुन्दर पुडासैनीको शुक्रबार साँझ निधन भएको छ । नियमित काम सकेर कोठामा पुगेपछि अचानक गम्भीर बिरामी परेका पुडासैनीलाई छिमेकीको सहयोगमा अस्पताल लगिएको थियो । तर, हेल्पिङ ह्यान्ड्स अस्पतालले उनलाई मृत घोषित गरेको छ ।
पुडासैनीका साथी नवराज कुँवरका अनुसार केही दिनदेखि बिरामी रहेका पुडासैनी अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालयको जिम्मेवारी पूरा गरिरहेका थिए । शुक्रबार साँझ ८ बजे अफिसबाट निस्केर एक सहकर्मीकोमा खाना खाएपछि कोठामा पुगेका पुडासैनी राति १० बजेतिर अचानक ढलेका थिए ।
कुँवरले भने, “उहाँ केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो तर नियमित ड्युटी गर्दै आउनुभएको थियो । आज पनि काम सकेर सहकर्मीकोमा खाना खाएर कोठा पुग्नासाथ ढल्नुभएछ । छिमेकीले खबर गरेपछि अस्पताल लैजाँदा उहाँलाई चिकित्सकले मृत घोषित गर्नुभयो ।”
पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकका रूपमा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णजस्ता मिडियामा महत्वपूर्ण भूमिका निभाएका थिए । पुडासैनीको अकस्मात निधनले नेपाली पत्रकारिता क्षेत्रलाई ठूलो क्षति पुगेको छ । उनको स्मृति र योगदान सधैं स्मरणीय रहनेछ ।




