जनकपुर – यो नाम सुन्नासाथ मेरो मनमा दुई कुरा एकसाथ आउँछन् । एउटा- माता सीताको जन्मस्थल एवम् सीता रामको विवाहस्थलको पवित्रता । अर्को- म आफैँ पानीमा भिज्दै यस पवित्र भूमिमा हिँडिरहेको त्यो स्मरणीय पल ।
त्यो दिन आकाशमा बादल जम्मा भइरहेका थिए । म शान्तसँग हिँडिरहेको थिएँ । एक्कासि वर्षा सुरु भयो । छाता थिएन । दौडिएर कतै ओत लाग्न मनले मानेन । बस, वर्षासँगै रुझिँदै जनकपुरधाममा अघि बढेँ – जहाँ हरेक पाइला धर्म, इतिहास र आत्मीयता जोडिएको छ ।

जानकी मन्दिर – श्रद्धाको शिखर, सौन्दर्यको संगम
वर्षाको थोपासँगै मैले पहिलो पाइला राखेँ, जानकी मन्दिरमा । सेतो रंगमा सजिएको विशाल मन्दिर वर्षाको पानीमा झल्किरहेको थियो । मन्दिरका भित्ताहरूमा कोरिएका मिथिला चित्रकलामा मेरो मन हराउँदै गयो ।
वि.सं. १९६७ मा बनाइएको यो मन्दिर राजा जनककी सुपुत्री सीताको नाममा समर्पित छ । विवाह पञ्चमीको बेला यहाँ लाखौँ श्रद्धालुहरूको भिड लाग्छ । तर म त्यही बेला यहाँ पुगेको थिएँ- जब यहाँ शान्ति थियो, र आत्माको आवाज बढी स्पष्ट सुनिन्थ्यो ।

राम मन्दिर – मौनता भित्रको इतिहास
जानकी मन्दिरबाट केही पर रहेको राम मन्दिर अत्यन्त साधारण छ, तर यसको गहिरो महत्व छ । विश्वास गरिन्छ, यहीँ राम र सीताको विवाह सम्पन्न भएको थियो । मन्दिर नजिकको रुखमुनि बसेर मैले आकाश हेरिरहेँ – जहाँ पानीका थोपाहरू बगिरहेका थिए । त्यो दृश्य आफैँमा एक शान्त प्रार्थना जस्तो लाग्थ्यो ।
दुर्गा मन्दिर – शक्तिको सन्देश, श्रद्धाको केन्द्र
पछिल्लो गन्तव्य बन्यो – ऐतिहासिक दुर्गा मन्दिर । यो मन्दिर महाभारत कालदेखि पूजाआराधाको केन्द्र रहँदै आएको छ । विशेष गरी नवरात्रिको समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । तर त्यो दिन म एक्लै थिएँ । र पनि, म आफूलाई एक्लो महसुस गरिरहेको थिइनँ । वर्षाले भिजेका ढोकाहरू, चिसा भित्ताहरू अनि ती पुराना ढुंगाहरुले पनि मानौँ मसँग संवाद गरिरहेका थिए ।

जनकपुरका स्वाद र स्मृतिहरू
त्यो भीजाइमा पनि, सडकछेउको तातो समोसा, तात्तातो तरकारीको मिठो बास्ना अनि त्यही थालमा पाइने सादगीपूर्ण स्वाद । तर अर्को दृश्यले भने केही पीडा थप्यो – सडकको छेउमा थुप्रिएको फोहोर, जमेको पानी र त्यसमा उडिरहेका लामखुट्टेहरू ।
मलाई सम्झना आयो- कतै कुनै टोलमा बच्चाहरू यसै मौसममा बिरामी परिरहेका होलान् । अस्पतालहरूमा भीड हुनुको एउटा कारण यही पनि होला ।
रेल स्टेसन – अधुरो अपेक्षा
फर्किने बेला डाफेमा चढेर पुगेँ नेपालकै रेल स्टेशन । मनमा एउटा उत्सुकता थियो- रेल हेर्ने । तर रेल देख्ने मौका मिलेन । मैले सोचेँ- “सायद अर्को पटक आउँला ।” अनि चुपचाप बसपार्कतर्फ लागेँ ।

रुझेको यात्रा – उज्यालो अनुभूति
यो यात्रा मेरो लागि भिजेको यात्रामात्र रहेन, आत्माको शान्तिको यात्रा पनि भयो । जनकपुरले मलाई एउटा गहिरो अनुभूति दियो- जसले धर्म, संस्कृति र मानवता तीनै कुरा समेटेको छ । फर्कँदा, मैले भिजेको लुगासँगै जनकपुरको आत्मा मेरो मनमा साथ लिएर फर्किएँ ।







