काठमाडौं । नेपालका वन क्षेत्रमा हरेक वर्ष करोडौँ मूल्य बराबरको काठ कुहिएर, मक्किएर वा डढेर नष्ट भइरहेको यथार्थ कुनै नयाँ विषय होइन । कति सरकार आए गए, कति वनमन्त्री फेरिए, कति वन अधिकृतहरूले आफ्नो कार्य क्षेत्र सम्हाले तर वनमै लडेको काठ त्यसै खेर जाने समस्या भने दशकौँदेखि जस्ताको तस्तै छ । यो समस्या धेरैले बाल्यकालदेखि आफ्नै आँखाले देख्दै आएका छन् ।
वन संरक्षणको नाममा अपनाइएको हाम्रो नीति व्यवहारमा संरक्षणभन्दा बढी निष्क्रियता जस्तो देखिन थालेको छ । रुख ढल्छ, सुक्छ, किरा लाग्छ, आगलागीमा पर्छ तर त्यसको व्यवस्थापन हुँदैन । न समयमै कटान हुन्छ, न लिलामी, न उपयोग । अन्ततः त्यो काठ वनमै कुहिएर समाप्त हुन्छ । यसले वन जोगिएको त देखाउँछ, तर देशले गुमाएको आर्थिक सम्भावनाको हिसाब कसैले गर्दैन ।
नेपालजस्तो विकासशील मुलुकका लागि वन क्षेत्र केवल जैविक सम्पदा मात्र होइन, सम्भावित आम्दानीको महत्वपूर्ण स्रोत पनि हो । तर हाम्रो वन नीति यति जटिल र कागजी प्रक्रियामा अल्झिएको छ कि कर्मचारी निर्णय लिन डराउँछन्, समुदाय अलमलमा पर्छ, र तस्करले मौका पाउँछन् । वैध रूपमा उपयोग हुनुपर्ने काठ अवैध रूपमा ओसारिन्छ, वैध आम्दानी अवैध कारोबारमा परिणत हुन्छ ।
आज राज्यले कर, ऋण र वैदेशिक सहायता खोजिरहेको अवस्थामा वनबाट दिगो आम्दानी निकाल्न नसक्नु नीतिगत असफलता हो । वनमै कुहिएको काठ प्रयोग गरेर फर्निचर, निर्माण सामाग्री, ऊर्जा, वा प्रशोधित काठ उद्योग सञ्चालन गर्न सकिन्थ्यो । यसले रोजगारी सिर्जना गर्थ्यो, स्थानीय सरकारको आम्दानी बढाउँथ्यो र आयातमा निर्भरता घटाउँथ्यो ।
वन संरक्षण र उपयोगलाई सधैं विरोधी अवधारणाजस्तै प्रस्तुत गरिन्छ, जबकि दुवै सँगसँगै जान सक्छन् । वैज्ञानिक वन व्यवस्थापन, समयमै कटान, पारदर्शी लिलामी, स्थानीय सहभागिता र कडा अनुगमनमार्फत वन जोगाउँदै आम्दानी पनि सम्भव छ । तर त्यसका लागि नीति स्पष्ट हुनुपर्छ । काट्न नहुने रुख र काट्नै पर्ने रुख बीचको भिन्नता नीति र व्यवहार दुवैमा देखिनुपर्छ ।
आजको प्रश्न यही हो- के हाम्रो वन नीति संरक्षणका नाममा स्रोत नष्ट गरिरहेको त छैन ? के देशका लागि थोरै भएपनि आम्दानीको वैकल्पिक ढोका खोल्न हामी अझै तयार छैनौँ रु यदि वनमै काठ कुहिनु नै हाम्रो नियति हो भने, नीति बनाउने र कार्यान्वयन गर्ने संरचनामाथि गम्भीर पुनर्विचार आवश्यक भइसकेको छ । अब पनि नसोच्ने हो भने, वन त देखिन्छ तर त्यसबाट देशले पाउने अवसर भने सधैंझैं कुहिएर जानेछ ।






