२५ सेप्टेम्बर १९९६ मा तालिबानले काबुल कब्जा गर्यो । सत्तामा आएको दुई दिनमै तालिबानले भारतको घनिष्ट मित्र नजीबुल्लाहको शिरमा गोली हानी उनको शव एक क्रेनमा झुण्ड्यायो । काबुलको पतन र नजीबुल्लाहको विभत्सव हत्याले भारतमात्रै होइन पुरै संसार नै हल्लायो ।
किङ्गस कलेज, लण्डनमा रक्षा अध्ययनका प्रोफेसर अभिनास पालिवालले आफ्नो किताब ‘माइ एनिमीज एनिमी’ मा लेखेका छन् – ‘उक्त घटनापछि भारतले काबुलमा रहेको आफ्नो दुतावास बन्द गर्यो । २००१ सम्म तालिबान सत्तामा रह्यो, भारतले त्यहाँ राजदूत पठाएन । यति मात्र होइन, सुरक्षा परिषदको प्रस्ताव नम्बर १०७६ लाई समर्थन गरियो, जसमा मानवअधिकार र महिला अधिकार उल्लंघनका लागि तालिबानको आलोचना गरिएको थियो ।’
‘यसबाहेक, यसले तालिबानको ठाउँमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त रब्बानी सरकारलाई मान्यता दियो । उनका राजनीतिक साथी मसूद खलीलीलाई भारतमा अफगानिस्तानको प्रतिनिधिका रुपमा स्वीकार गरियो । तालिबानको प्रतिद्वन्द्वी संयुक्त मोर्चालाई सैन्य, आर्थिक र चिकित्सा सहायता प्रदान गरियो ।’
महिलालाई बाहिर निस्कन र छोटो कपडा लगाउन प्रतिबन्ध
महिलाहरुप्रति तालिबानको दृष्टिकोण पहिलो पटक नोभेम्बर १९९६ मा जारी सरकारी आदेशमा प्रतिबिम्बित थियो, जसमा महिलालाई अग्लो हिल चप्पल र जुत्ता लगाउन प्रतिबन्ध गरिएको थियो । यति मात्रै होइन, जुत्ताबाट आवाज निस्कदा पनि सजाय दिने प्रावधान जारी गरियो । मेकअप र फेसन गर्न पनि प्रतिबन्ध लगाइयो ।
महिलालाई सम्बोधन गरिएको आदेशमा भनिएको थियो – ‘तिमीहरु घरबाट बाहिर निस्कन पाउने छैनौ । यदि घरबाट निस्किन अत्यावश्यक परेमा इस्लामी शरिया कानुन अनुसार आफ्नो शरीर पुरै ढाकेर निस्कनुपर्ने छ । बिरामी महिला, महिला चिकित्सककहाँ मात्रै जानुपर्नेछ । कुनै पनि ड्राइभर ती महिलालाई आफ्नो कारमा राख्न पाउने छैन, जसले बुर्का लगाएका हुँदैनन् । यदि यो नियम उल्लंघन गरेमा ड्राइभरसँगै महिलाका पतिलाई पनि सजाय दिइनेछ ।’
लामो दाह्री नराख्दा सजाय
महिलालाई मेडिकल क्षेत्र छोडेर पश्चिमी मानवीय सहायता एजेन्सीका लागि काम गर्न पनि प्रतिबन्ध लगाइयो । प्रसिद्ध लेखक अहमद रशीदले आफ्नो किताबमा लेखेका छन् – ‘मेडिकल क्षेत्रमा काम गर्ने महिलालाई ड्राइभरको छेउको सिटमा बस्न प्रतिबन्ध लगाइयो । अफगान महिलालाई विदेशी बसेको कारमा बस्न पनि मनाही थियो । अफगान बालबालिकाहरुको एक पुस्ता नै विना शिक्षा हुर्कियो ।’
जब तालिबान पहिलो पटक काबुलमा प्रवेश गरे तब प्रहरीले दाह्री लामो नभएको निहुँमा कुटपिट गर्न थाल्यो । बुर्का राम्रोसँग नलगाएका महिलामाथि पनि हिंसा गर्न थालियो । धार्मिक प्रहरीको कामकाजको ढंग साउदी अरबको धार्मिक प्रहरीको जस्तो थियो ।
बोर्नेट रुबिनले आफ्नो पुस्तक ‘फ्रेगमेन्टेशन अफ अगानिस्तान’ मा लेखेका छन् – ‘अफगानिस्तानको गुप्तचर एजेन्सी खाडमा १५ हजारदेखि ३० हजार जासुस काम गर्थे । यसबाहेक करिब एक लाख मानिसहरु उक्त संस्थासँग जोडिएका थिए, जो पैसाका लागि प्रशासनसम्म सूचना पुर्याउँथे ।’
खेलमा प्रतिबन्ध
तालिबानको धार्मिक आदेश ‘रेडियो काबुल’, जसको नाम परिवर्तन गरी ‘रेडियो शरियत’ राखियो । मानिसको हरेक सामाजिक व्यवहार तालिबानले नियन्त्रण गर्ने कोसिस गरेको थियो । अहमद रशीद लेख्छन्– ‘सुरुमा सबै खेलमा प्रतिबन्ध लगाइएको थियो । पछि खेलको अनुमति दिइयो, विभिन्न शर्त राखेर । यदि खेलको समय नमाजको समय भएमा खेल बीचमा नै रोक्नुपर्ने र खेलाडी र दर्शक दुवैले नमाज पढ्नुपर्ने नियम बनाइएको थियो । महिलालाई खेलमा भाग लिन पनि प्रतिबन्ध गरिएको थियो ।’
बन्द गरियो विद्यालय
संयुक्त राष्ट्र मानवीय सहायता कार्यालयले अक्टोबर १९९६ मा एक वक्तव्य जारी गरेर भनेको थियो, ‘तालिबानले सत्ता सम्हालेको तीन महिनाभित्र काबुलमा ६३ विद्यालय बन्द गरिएको थियो । जसकारण ११ हजार २०० शिक्षकहरुको नोकरी गयो, जसमा ७ हजार ८ सय महिला थिए ।
डिसेम्बर १९९८ मा यूनेस्कोको एक रिपोर्टमा पनि भनिएको थियो – ‘तालिबान आएको केही महिनाभित्र अफगानिस्तानको शिक्षा व्यवस्था छिन्न–भिन्न भयो र दशमध्ये नौ बालबालिका र तीनमध्ये दुई बालबालिका स्कुल भर्ना गरिएन ।’ ८० को दशकसम्म, जबसम्म शोभियत सेना अफगानिस्तानमा रहे, पुरै दुनियाँको सहायता अफगान मानिसम्म पुग्यो । तर जब तालिबानले पुरै अफगानिस्तान कब्जा गर्यो, तब त्यहाँ विदेशी सहायता आउन बन्द भयो ।
समलैंगिकता विरुद्ध
हेरातलाई अफगानिस्तानको सबैभन्दा आधुनिक शहर मानिन्थ्यो । त्यहाँका मानिसहरुलाई सिनेमा हेर्न, खेल्न र बिवाहमा गाउन कुनै रोकटोक थिएन । तालिबानले सत्ता सम्हालेपछि यी गतिविधि बन्द गरियो । तालिबानका गतिविधि समलैंगिकता विरुद्ध थियो । महिलाको कपडा सिलाउन नाप लिन प्रतिबन्ध लगाइएको थियो । सबै फेसन पत्रिका नष्ट गरियो । नेल पोलिस लगाउन, साथीभाइसँग फोटो खिच्न, ताली बजाउन, चियाका लागि कुनै विदेशीलाई आमन्त्रित गर्न पनि रोक लगाइएको थियो, यसो गरेको पाइएमा सजाय दिइन्थ्यो ।
काबुलका मानिसहरुलाई दाह्री बढाउनका लागि ६ हप्ताको समय दिइएको थियो । केही जातिका लागि यो निकै मुश्किल थियो, किनकी उनीहरुमध्ये कतिको दाह्री नै आउँदैन थियो भने कतिको दाह्री बढ्न मुश्किल थियो । तालिबानको कानुन भने जुनसुकै परिस्थितिमा दाह्री एक मुठ्ठीभन्दा छोटो हुन नहुने थियो ।






