वीरगंज । कुनै समय मधेस क्षेत्रकै प्रमुख खेलकूद केन्द्र मानिएको नारायणी रंगशाला अहिले पुन: मर्मत सम्भारको प्रक्रियामा प्रवेश गरेको छ । वर्षौँसम्म उपेक्षित रहँदै आएको यो ऐतिहासिक रंगशालामा फेरि काम सुरु भएसँगै स्थानीय खेल प्रेमीहरूमा आशा जाग्न थालेको छ ।
नारायणी रंगशालाको प्याराफिट मर्मतको काम हाल अङ्कुर निर्माण सेवामार्फत भइरहेको छ । करिब २ करोड ३४ लाख रुपैयाँ लागतमा ५२ फिट प्याराफिटको मर्मत तथा पुनर्निर्माण गर्ने काम सुरु गरिएको हो । ठेकेदार कम्पनीले गत फागुन २८ गतेदेखि काम सुरु गरेको र अहिले पुरानो प्याराफिट भत्काएर नयाँ संरचना निर्माणको तयारी भइरहेको छ ।
यसअघि करिब तीन वर्षअघि पाँच करोड रुपैयाँको लागतमा ५० मिटर प्याराफिट निर्माण गरिएको थियो । पछिल्ला वर्षहरूमा विभिन्न सरकारी योजनामा रोक लागेपनि नारायणी रंगशालाको बजेट कटौती नभएपछि सरकारबाट विनियोजित चार करोड रुपैयाँ आएपछि मर्मत कार्य अघि बढाइएको हो ।
मर्मत योजना अन्तर्गत एथलेटिक्सका आठ वटा ट्र्याक निर्माण गर्ने सम्झौता पनि गरिएको छ । ठेकेदार कम्पनीले उक्त कार्य आगामी असार १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । रंगशालामा रहेका चारवटै ब्लक अहिले जीर्ण अवस्थामा छन्, जसका कारण रंगशालाको समग्र संरचना नै कमजोर बन्दै गएको छ ।
नारायणी रंगशालाको इतिहास भने निकै गौरवपूर्ण छ । पञ्चायतकालमा तत्कालीन अञ्चलाधीश स्वर्गीय लक्ष्यबहादुर गुरुङको पहलमा नागरिकसँग एक रुपैयाँ कर संकलन गरेर करिब साढे १७ बिघा क्षेत्रफलमा २०३८ सालमा यसको निर्माण सुरु गरिएको थियो । चार वर्षमा निर्माण सम्पन्न भएपछि यो रंगशाला सञ्चालनमा आएको थियो ।
एक समय यो रंगशाला अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको समेत केन्द्र बनेको थियो । सार्कस्तरीय खेलकूद प्रतियोगिता, महेन्द्र गोल्डकप, शहीद तेजबहादुर अमात्य गोल्डकपजस्ता प्रतिष्ठित प्रतियोगिताहरू यही मैदानमा आयोजना हुने गरेका थिए । त्यसबेला ३५ हजार दर्शक क्षमताको अनुमान गरिएको यो रंगशाला दशरथ रंगशालापछिको ठूलो रंगशालाका रूपमा चिनिन्थ्यो ।
तर पछिल्ला दुई दशकमा सरकारी बेवास्ता र व्यवस्थापनको कमजोरीका कारण यसको अवस्था दिनप्रतिदिन खस्किँदै गयो । स्थानीय तहका खेलकूद गतिविधि समेत यहाँ हुन छाडेपछि रंगशाला विद्यालयस्तरका साना प्रतियोगितामा मात्र सीमित हुँदै गयो ।
जानकारहरूका अनुसार रंगशालाको संरचना बिग्रिनुको एउटा कारण साल्ट ट्रेडिङ कम्पनीले लामो समयसम्म यहाँ नून भण्डारण गर्नु पनि हो । तत्कालीन क्षेत्रीय खेलकूद विकास समितिले रंगशालाको केही भागलाई नून गोदामका रूपमा प्रयोग गर्न दिएपछि प्याराफिटको बाहिरी भागमा नून भण्डारण गरिँदै आएको थियो, जसका कारण संरचना छिट्टै जीर्ण बनेको आरोप लाग्दै आएको छ ।
तीन वर्षभित्र दुई चरणमा प्याराफिट मर्मत गर्नुपर्ने अवस्था आउनु नै तीनै तहका सरकारको दीर्घकालीन योजना र व्यवस्थापनमा देखिएको कमजोरीको उदाहरण भएको स्थानीयको भनाइ छ । यद्यपि अहिले सुरु भएको मर्मतकार्यले नारायणी रंगशालालाई पुनः जीवन दिने अपेक्षा गरिएको छ ।






