सर्लाही । सर्लाहीको ईश्वरपुरमा आयोजित एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमार्फत ४ सय ४९ जनालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा तथा लालबन्दी मोडल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विभिन्न रोग सम्बन्धी परीक्षण र उपचार गरिएको थियो । शिविरमा महिला ३१९ र पुरुष १३० जना लाभान्वित भएका छन् ।
शिविरमा विशेष गरी हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, बालरोग, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा सेवा (जनरल फिजिसियन), उच्च रक्तचाप, दम, मधुमेह (सुगर) लगायतका रोगहरूको परीक्षण तथा उपचार गरिएको थियो ।
साथै बिरामीहरूलाई नि:शुल्क औषधि वितरण र आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो । शिविरमा फिजिसियन डा. आलोक कुमार कुशवाह, हाडजोर्नी विशेषज्ञ डा. अशोक शाह, बालरोग विशेषज्ञ डा. अर्जुन लामा, स्त्रीरोग विशेषज्ञ डा. लिमु साह तथा डा. कुन्दन सिंह लगायतका चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै डा. आलोक कुमार कुशवाहले यस्ता नि:शुल्क शिविरले विशेष गरी आर्थिक रूपमा कमजोर तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने नागरिकलाई ठूलो राहत पुग्ने बताए । उनले समयमै रोग पहिचान र उपचार गर्न सके जटिल समस्या हुनबाट बच्न सकिने उल्लेख गरे ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता शिविरहरूले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।




