काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । आयोगले चैत २४ गते सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।
आयोगका अनुसार सामुदायिक विद्यालयहरूमा रिक्त रहेका निम्न माध्यमिक तहका शिक्षक पदहरूमा स्थायी पदपूर्तिका लागि यो विज्ञापन खुलाइएको हो । आयोगको निर्णय अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले निर्धारित मितिदेखि अनलाइन आवेदन दिन सक्नेछन् ।
उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत आफ्नो सम्पूर्ण विवरण भरी आवेदन दिनुपर्नेछ । साथै, विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिने जनाइएको छ ।
आयोगले तोकिएको म्यादभित्र आवेदन दिन तथा आवश्यक कागजातहरू पूरा गर्न उम्मेदवारहरूलाई अनुरोध गरेको छ ।







