महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा देवाडमा नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । घटनापछि माइती पक्षले दाइजोका कारण छोरीको हत्या गरिएको आरोप लगाएका छन् ।
सर्लाहीको हरिपुर्वा नगरपालिका ७ बसन्तपुर निवासी रामज्ञान मण्डलकी छोरी रंजिता मण्डलको २०८२ फागुन १४ गते महोत्तरीको सम्सी १ पर्सा देवाड निवासी विजय मण्डलका छोरा रमेश मण्डलसँग विवाह भएको थियो ।
विवाह भएको ८३ दिन नपुग्दै रंजिताको मृत्यु भएको हो । मंगलबार साँझ उनले पासो लगाएर आत्महत्या प्रयास गरेको भन्दै श्रीमानले उनलाई उपचारका लागि रामगोपालपुर नगरपालिका ९ स्थित जानकी एकेडेमिक अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तर माइती पक्षले भने घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन् । मृतककी आमा कौशिल्यादेवी मण्डलका अनुसार केही दिनअघि छोरीसँग फोनमा कुरा हुँदा ससुराली पक्षले “माइतबाट भैंसी दाइजोमा ल्याएर आउ” भन्दै दबाब दिएको बताइन् ।
उनका अनुसार छोरीले पहिले नै नगद १० लाख रुपैयाँ र सुनचाँदीका गहना दिएको भन्दै अब थप दाइजो माग नगर्न आग्रह गरेकी थिइन् । त्यसपछि ससुराली पक्षले कुटपिट गर्न थालेको र अन्ततः छोरीको हत्या गरिएको आरोप उनले लगाइन् ।
यता प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले घटनाबारे सोधपुछ भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक कारण स्पष्ट हुने बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ । घटनापछि ससुराली पक्षका सबै सदस्य सम्पर्कविहीन रहेको बताइएको छ । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ ।






