दैलेख । दैलेखमा बाबुको खुर्पा प्रहारबाट छोराको ज्यान गएको छ । मदिरा सेवनपछि सामान्य भनाभन चर्किँदा बाबुले आफ्नै छोरामाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका ९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन् ।
गएराति करिब ११ बजेतिर भएको घटनामा यादव गम्भीर घाइते भएका थिए । घाइते यादवलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिए पनि चिकित्सकले अस्पताल पुग्नासाथ मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनामा संलग्न कम्बिराज थापालाई प्रयोग गरिएको खुर्पासहित उनकै घरबाट नियन्त्रणमा लिएको छ । घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






