जनकपुरधाम । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहर भएका मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालत जनकपुरबाट आंशिक राहत मिलेको छ । जिल्ला अदालत महोत्तरीले सुनाएको जन्मकैदको सजाय उल्टाउँदै उच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय निर्धारण गरेको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले दिएको फैसलाअनुसार शर्मा सहित चार जना अभियुक्तको जन्मकैद सजाय घटाएर जनही पाँच वर्ष कैद कायम गरिएको छ । यद्यपि, अन्य तीन अभियुक्तको हकमा भने जिल्ला अदालतको जन्मकैद सजायलाई नै सदर गरिएको छ ।
यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते अभिराम शर्मा सहित सात जनालाई थमन विकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाएको थियो । उक्त फैसला विरुद्ध अभियुक्त पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतको पछिल्लो फैसलाअनुसार अभियुक्त संजय साह, मोहन ठाकुर र प्रदीप रायलाई जन्मकैदकै सजाय कायम राखिएको छ । भने अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय पाँच–पाँच वर्ष कैदमा सीमित गरिएको छ ।
जिल्ला अदालतको फैसला विरुद्ध अभिराम शर्माका बुवा महेन्द्र शर्माले २०८१ वैशाख ९ गते पुनरावेदन दर्ता गरेका थिए । त्यसैगरी रामशंकर मिश्रको तर्फबाट उनकी श्रीमती संगीता कुमारी शर्मा, सुरेश पाण्डेको तर्फबाट उनकी छोरी प्रियंका पाण्डे तथा धर्मेन्द्र रायको तर्फबाट उनका दाजु अरविन्द कुमार रायले पनि पुनरावेदन गरेका थिए ।
यो मुद्दामा करिब अढाई वर्षसम्म सुनुवाइ चल्यो । उच्च अदालतमा ५०औँ पेशीमा पुगेर अन्तत: फैसला भएको हो । यस अवधिमा ४९ वटा पेशी विभिन्न कारणले स्थगित भएका थिए ।
अभिराम शर्मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता थिए । जिल्ला अदालतबाट जन्मकैदको फैसला भएपछि उनी फरार छन् । अदालतको फैसला पछि मधेश प्रदेशसभाले उनलाई सांसद पदबाट निलम्बन गरिसकेको छ ।
के थियो थमन विक हत्या प्रकरण ?
२०७२ सालको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विक संयुक्त राष्ट्रसंघीय मिसन (यूएन) सम्बन्धी परीक्षा दिएर हेटौंडाबाट आफ्नो कार्य क्षेत्र महोत्तरी पुगेका थिए । भदौ २५ गते आन्दोलनका क्रममा उनीमाथि आक्रमण भएको थियो ।
गम्भीर घाइते भएका विकलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुरतर्फ ल्याइँदै थियो । तर, तत्कालीन अनैठा गाविस क्षेत्रमा आन्दोलनकारीको समूहले एम्बुलेन्स रोकेर उनलाई बाहिर निकाली कुटपिट गरेको आरोप छ । सोही घटनामा उनको मृत्यु भएको थियो ।
त्यसयता यो घटना मधेश आन्दोलनसँग जोडिएको सबैभन्दा चर्चित आपराधिक मुद्दामध्ये एकका रूपमा रहँदै आएको छ । पछिल्लो उच्च अदालतको फैसलाले यस बहुचर्चित मुद्दामा केही अभियुक्तको सजाय घटाए पनि मुख्य तीन अभियुक्तको जन्मकैद भने यथावत् राखेको छ ।






