रौतहट । रौतहटको गजुरा नगरपालिका ५ हरिपुरमा शुक्रबार आपसी विवादका क्रममा एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका ८ इटहर बेलाही स्थायी घर भई हाल हरिपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले स्थानीय ४५ वर्षीया रेणुदेवी जयसवालमाथि खुकुरी प्रहार गरेका थिए ।
प्रहारबाट गम्भीर घाइते भएकी जयसवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनापछि आक्रोशित स्थानीयले कलवारमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित अस्पताल पठाइएको छ । प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






