काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेसँगै असार महिनाको विद्युत् खपतमा पनि भ्याट जोडिएको बिल आएपछि उपभोक्ताले असन्तुष्टि जनाएका छन् । साउन १ गतेदेखि नयाँ व्यवस्था लागू हुने भनिए पनि अघिल्लो महिनाको खपतमा समेत कर समावेश भएको भन्दै सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा प्रश्न उठ्न थालेका हुन् ।
कतिपय उपभोक्ताले पुरानो उपभोगमा नयाँ कर लगाउनु उचित नभएको टिप्पणी गरेका छन् । विद्युत् बिलमा थपिएको न्यूनतम शुल्कबारे पनि स्पष्ट जानकारी दिनुपर्ने माग उठेको छ । केहीले बिलिङ प्रणालीमा त्रुटि भएको हुन सक्ने आशंका व्यक्त गर्दै सम्बन्धित निकायबाट छानबिनको आवश्यकता औँल्याएका छन् ।
यता नेपाल विद्युत् प्राधिकरणले भने साउन १ गतेपछि जारी भएका सबै विद्युत् बिलमा नयाँ कर व्यवस्था लागू हुने भएकाले असारको केही अवधिको खपत समावेश भएको बिलमा पनि भ्याट देखिएको स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार विद्युत् मिटर रिडिङ सबै उपभोक्ताको एउटै मितिमा नहुने भएकाले बिल जारी भएको मितिअनुसार कर गणना गरिएको हो ।
प्राधिकरणले आर्थिक वर्षभरिमा उपभोक्ताले १२ महिनाभन्दा बढी अवधिको भ्याट तिर्नुपर्ने अवस्था नआउने दाबी गरेको छ । नयाँ कर प्रणाली आन्तरिक राजस्व कार्यालयसँगको समन्वयमा कार्यान्वयन गरिएको भन्दै अतिरिक्त आर्थिक भार नपर्ने प्राधिकरणको भनाइ छ ।






