महोत्तरी । विवाहको दुई महिना पनि पूरा भएको थिएन । नयाँ जीवन सुरु गर्ने सपना बोकेर ससुराली पुगेकी २२ वर्षीया शिवानी राउतको जीवन भने अकस्मात् रोकियो । महोत्तरीको पिपरा गाउँपालिका ५ स्थित ससुरालीमा उनको मृत्यु भयो । माइती पक्षले भने शिवानीको मृत्यु दाइजोको निहुँमा दिइएको निरन्तर यातनाको परिणाम भएको आरोप लगाएको छ ।
भारतको सुरसण्ड निवासी शिवानीको विवाह २०८३ साल असार १६ गते सजन राउतसँग भएको थियो । विवाहमा आफ्नो क्षमताअनुसार दाइजो तथा आवश्यक सामाग्री दिएको भएपनि त्यसपछि मोटरसाइकल, सुनलगायत थप दाइजोको माग हुन थालेको मृतकका परिवारको आरोप छ ।
शिवानीकी आमा रुवी देवीका अनुसार छोरीले आफूलाई ससुरालीमा शारीरिक र मानसिक यातना दिइने गरेको बताउँदै आएकी थिइन् । मोटरसाइकल र सुन नदिएको भन्दै ससुराली पक्षले छोरीलाई पटक–पटक दबाब दिने गरेको उनको भनाइ छ ।
आमासँगको अन्तिम भेट
रुवी महोत्तरीको जलेश्वर नगरपालिका ८ रमौलस्थित माइतीतर्फको मामाघरमा आयोजित मुण्डन कार्यक्रममा सहभागी हुन आएकी थिइन् । त्यही क्रममा उनी छोरीलाई भेट्न पिपरास्थित ससुराली पुगेकी थिइन् । त्यहाँ शिवानीले आफूले भोगिरहेको पीडाबारे आमालाई सुनाइन् । रुवीका अनुसार छोरीले दाइजोमा मोटरसाइकल र सुन नदिएको भन्दै आफूलाई यातना दिने गरेको बताएकी थिइन् ।
रुवीले छोरीलाई समेत मुण्डन कार्यक्रममा सहभागी गराउन पठाइदिन ससुराली पक्षसँग आग्रह गरेकी थिइन् । तर, मोटरसाइकल र सुन नदिएसम्म कतै जान नदिने जवाफ पाएको उनले बताइन् । ‘दिउँसो करिब २ बजे छोरीलाई भेटेर म त्यहाँबाट आएँ । चार घण्टापछि साँझ छोरीको मृत्यु भएको खबर पाएँ,’ रुवीले भनिन् ।
छोरीको मृत्युको खबर पाएपछि उनी तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुगिन् । त्यहाँ शिवानीको घाँटीमा निलडाम देखिएको भन्दै उनले ससुराली पक्षले घाँटी थिचेर हत्या गरेको आशंका गरिन् । त्यसपछि उनले घटनामा संलग्न भएको आरोप लगाउँदै शिवानीका पति सजन राउत, देवरद्वय प्रेम राउत र निराजन राउत तथा सासू नूतन देवीविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी छन् ।
‘मोटरसाइकल नल्याएसम्म यातना’
शिवानीका मामा जलेश्वर नगरपालिका ८ का दिपुकुमार कापरका अनुसार भदौ ४ गते राति करिब ७ बजे शिवानीले आफूलाई श्रीमान्, सासू र देवरहरूले मोटरसाइकल ल्याउन दबाब दिइरहेको बताएकी थिइन् । कापरका अनुसार शिवानीले आफूलाई घाँटी दबाउने, कुटपिट गर्ने तथा मानसिक यातना दिने गरेको समेत बताएकी थिइन् । त्यसैले उनको मृत्यु दाइजोकै कारण भएको उनको दाबी छ ।
ससुराली पक्षले भने शिवानीले झुन्डिएर आत्महत्या गरेको बताएको परिवारको भनाइ छ । तर, शवको अवस्था हेर्दा आफूहरूलाई घटना शंकास्पद लागेको कापरले बताए । शिवानीको शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा नगरी थप परीक्षणका लागि धरान पठाइएको परिवारले जनाएको छ ।
अनुसन्धानको जिम्मा प्रहरीलाई
मृतक पक्षले दिएको जाहेरीमा शिवानीलाई विवाहपछि सुन, मोटरसाइकल लगायत थप दाइजोका लागि निरन्तर शारीरिक तथा मानसिक यातना दिइएको र त्यही यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको आरोप लगाइएको छ ।
परिवारले भने घटनाको प्रकृति शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा पति र सासूसहित तीन जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जाहेरी प्राप्त भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
शिवानीको मृत्युको वास्तविक कारण पोस्टमार्टम तथा अनुसन्धानबाट खुल्नेछ । तर, विवाहको दुई महिना नपुग्दै भएको उनको मृत्युले दाइजोका नाममा हुने हिंसा र त्यसले निम्त्याउने भयावह परिणाममाथि फेरि गम्भीर प्रश्न उठाएको छ ।






