सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ३ ट्राफिक बजारमा दुई वर्षीया बालिकाको हत्या भएको घटनामा उनकी सौतेनी आमाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
स्थानीय मो. इरफानकी दुई वर्षीया छोरी खुसी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन् । बालिका हराएको खबर पाएपछि प्रहरी र स्थानीयवासीले खोजी थालेका थिए । खोजीका क्रममा सोही दिन बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि प्रहरीले बालिकाकी सौतेनी आमा मुस्कान खातुनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवादसँग जोडिएको विषय बाहिर आएको छ ।
प्रहरीका अनुसार मुस्कान र रुबिना खातुनबीचको विवादकै कारण बालिकाको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि, घटनाको वास्तविक कारण र हत्या भएको परिस्थितिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
डीएसपी घिमिरेका अनुसार बालिकाको मृत्यु कसरी भयो भन्ने विषय पोस्टमार्टम रिपोर्ट तथा अन्य अनुसन्धानबाट थप स्पष्ट हुनेछ । प्रहरीले घटनास्थलबाट संकलन गरिएका प्रमाण, नियन्त्रणमा रहेकी मुस्कानको बयान तथा अन्य तथ्यका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
मृतक बालिकाको शव आइतबार नै पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि उनकी आमाले शव बुझेर अन्तिम संस्कारका लागि लगेको डीएसपी घिमिरेले जानकारी दिए । बालिकाका बुबा भने वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादसँग जोडिएको देखिएको घटनामा अन्य व्यक्तिको संलग्नता तथा घटनाको पृष्ठभूमिबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान पूरा भएपछि मात्रै घटनाको यथार्थ कारण र विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ ।
दुई वर्षीया बालिकाको हत्या भएको घटनाले शम्भुनाथ नगरपालिका ३ क्षेत्रका स्थानीयवासीलाई स्तब्ध बनाएको छ ।






