नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बेलाटारीबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकललाई बेलाटारीमा रोकी जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको अवस्थामा उक्त रकम बरामद भएको हो ।
पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका ६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र सोही ठाउँका २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन् । तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ तथा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलाटारीमा ल्याएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ । बरामद रकमको स्रोत तथा घटनाको वास्तविकताबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।




