काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ परेका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटै फरार भएका छन् । अन्य दुई प्रहरी कार्यालयमा समेत मुद्दा बाँकी रहेका अभियुक्त प्रहरीको नियन्त्रणबाटै उम्किएपछि घटनामा प्रहरीकै मिलेमतो भएको आशंका समेत उब्जिएको छ ।
फरार हुनेमा कास्कीको पोखरा महानगरपालिका ५ का ३८ वर्षीय रामेश्वर पराजुली छन् । महोत्तरी प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दाको अनुसन्धान पूरा गरी उनको फाइल सरकारी वकिल कार्यालयमा बुझाइसकेको थियो ।
पराजुलीविरुद्ध महोत्तरीको एकडारा गाउँपालिका ४ का दरवेश राय यादवको जाहेरीमा तीन तीन लाख रुपैयाँ बिगो दाबी गरिएका बैंकिङ कसुर तथा ठगी र विश्वासघातसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका थिए ।
यी दुवै मुद्दामा महोत्तरी जिल्ला अदालतले भदौ २२ गते पराजुलीलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश नवराज कार्कीको इजलासको आदेशपछि पराजुलीले अदालतले तोकेको धरौटी रकम बुझाएका थिए ।
तर धरौटी बुझाउँदैमा उनी तत्काल रिहा हुने अवस्था भने थिएन । पराजुलीविरुद्ध काठमाडौंका प्रहरी वृत्त बौद्ध र गौशालामा समेत मुद्दा बाँकी रहेकाले ती कार्यालयले अनुसन्धानका लागि उनलाई बुझाइदिन महोत्तरी प्रहरीलाई पत्राचार गरेका थिए ।
धरौटी बुझाइसकेपछि बौद्ध वा गौशाला प्रहरीको जिम्मा लगाउने तयारी भइरहेका बेला पराजुली महोत्तरी प्रहरी कार्यालयबाटै फरार भएको प्रहरीले जनाएको छ ।
पाँच–छ थुनुवा ल्याइएका बेला भागेको प्रहरीको दाबी
महोत्तरीका प्रहरी उपरीक्षक श्याम सारु मगरले पराजुली प्रहरीको मिलेमतोमा नभई ड्युटीमा रहेका प्रहरीको कमजोरीको फाइदा उठाएर भागेको दाबी गरेका छन् । उनका अनुसार अदालतबाट धरौटीमा छाड्ने आदेश भएपछि पराजुलीलाई प्रहरी कार्यालय ल्याएर आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको थियो ।
त्यही क्रममा अदालतबाट एकैपटक पाँच–छ जना थुनुवा ल्याइएको र काठमाडौं पठाउने तयारी भइरहेका बेला पराजुली फरार भएको उनले बताए । घटनाबारे आन्तरिक छानबिन भइरहेको एसपी सारु मगरले बताएका छन् । फरार पराजुलीको खोजी पनि भइरहेको उनको भनाइ छ ।
घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले पनि प्रहरीकै कमजोरीको फाइदा उठाएर पराजुली भागेको दाबी गरेका छन् । उनका अनुसार अभियुक्तलाई भगाइएको नभई सुरक्षा व्यवस्थामा भएको कमजोरीका कारण उनी उम्किएका हुन् ।
योजनाको नाममा रकम उठाएको आरोप
पराजुलीमाथि मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट योजना पारिदिने भन्दै सर्वसाधारणबाट रकम उठाएर ठगी गरेको आरोप छ । यही प्रकृतिको आरोपमा सिरहा प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो । सिरहाका योगेन्द्रकुमार यादवले ७ लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी दिएका थिए ।
पक्राउ परेपछि साउन २९ गते पराजुलीले पीडितसँग लेनदेन मिलाएर मिलापत्र गरेका थिए । त्यसपछि सिरहा प्रहरीले उनलाई रिहा नगरी महोत्तरीमा दर्ता भएका ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारबाहीका लागि महोत्तरी प्रहरीको जिम्मा लगाएको थियो । महोत्तरीमा यादवकै जाहेरीका आधारमा गत वैशाख ११ गते र जेठ १ गते ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ ।
काठमाडौंसहित विभिन्न जिल्लामा पनि मुद्दा
प्रहरीका अनुसार पराजुलीविरुद्ध काठमाडौंलगायत विभिन्न स्थानमा पनि यस्तै प्रकृतिका उजुरी तथा मुद्दा दर्ता भएको पाइएको छ । तारादेवी बस्नेतको जाहेरीमा २०७४ भदौ १५ गते बैंकिङ कसुर, होमबहादुर थापाको जाहेरीमा २०७६ वैशाख ११ गते ठगी तथा महेश बस्नेतको जाहेरीमा २०७६ जेठ १९ गते बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ ।
यस्तै, २०८२ असार १२ गते रोशनकुमार गुरुङको जाहेरीमा बैंकिङ कसुर, साउन १८ गते कुमार गुरुङको जाहेरीमा ठगी तथा २०८३ वैशाख ४ गते धिरेन्द्रकुमार यादवको जाहेरीमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी विवरणमा देखिन्छ । यीमध्ये केही मुद्दा फर्स्यौट भइसकेका छन् भने केहीमा अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकै नियन्त्रणमा रहेका र अन्य प्रहरी कार्यालयमा बुझाउनुपर्ने अभियुक्त सुरक्षा घेराबाटै फरार भएपछि महोत्तरी प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । प्रहरीले भने घटनामा कुनै मिलेमतो नरहेको र ड्युटीमा रहेका प्रहरीको कमजोरीको फाइदा उठाएर पराजुली भागेको दाबी गर्दै आन्तरिक छानबिन तथा खोजी अघि बढाएको जनाएको छ ।




