पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले ८० लाख ३० हजार २ सय रुपैयाँ बराबरको मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीअन्तर्गत सुरक्षा वेश सेमरीबाट खटिएको टोलीले बर्दघाट नगरपालिका ४ स्थित एस मोडनजिकै जंगलको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद सामग्रीमा मोबाइल पार्ट्स, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच, स्पिकरलगायत इलेक्ट्रोनिक सामान रहेका छन् । बरामद सामानको अन्दाजी मूल्य ८० लाख ३० हजार २ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मनोज गुरुङका अनुसार सुरक्षा वेश सेमरीबाट खटिएको टोलीले जंगलको झाडीमा लुकाइराखिएको अवस्थामा सामान फेला पारेको हो ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सूचना अधिकारी गुरुङले जानकारी दिए । सीमा तथा आसपासका क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।




