पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ महेशपुरबाट प्रहरीले भन्सार छली नेपाल भित्र्याएर भण्डारण गरिएको ठूलो परिमाणको तोरी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार असोज ३ गते साँझ करिब ५ बजे भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याएर महेशपुरस्थित एक टहरामा भण्डारण गरी राखिएको २७ क्विन्टल ८६ किलो तोरी बरामद गरिएको हो । प्रहरीका अनुसार बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ रहेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका २ महेशपुरस्थित टहरामा भण्डारण गरिएको अवस्थामा उक्त तोरी फेला पारेको हो ।
भारतबाट भन्सार छली अवैध रूपमा ल्याएर भण्डारण गरिएको आशंकामा बरामद गरिएको तोरीलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए ।




