जनकपुरधाम । भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि मधेश प्रदेश प्रहरीले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिँदै जनशक्ति, उद्धार तथा राहत टोलीलाई ‘स्ट्याण्डबाई’ अवस्थामा राखेको जनाएको छ ।
प्रदेशका आठवटै जिल्लामा सम्भावित विपद्लाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा तयारी गर्न निर्देशन दिइएको जानकारी दिए ।
न्युज कारखानासँग कुरा गर्दै उनले बाढी, डुबान वा अन्य विपद् आइपरेमा ढिलाइ नगरी उद्धार तथा राहतमा परिचालन हुन सक्ने गरी सुरक्षाकर्मी र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको बताए ।
उनका अनुसार नदी तथा खोलाको बहाव बढ्न सक्ने क्षेत्रसँगै राजमार्गमा निर्माण भइरहेका पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा समेत निगरानी बढाइएको छ । प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई पनि विपद् प्रतिकार्य तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले पनि सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएको जनाइएको छ ।
सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय थप मजबुत बनाउने निर्णय बैठकबाट गरिएको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए ।
यी क्षेत्र बढी जोखिममा
मधेशका सबै जिल्लामा बाढी तथा डुबानको जोखिम रहे पनि नदी तथा खोलाको बहाव र विगतमा भएका क्षतिका आधारमा विभिन्न क्षेत्रलाई बढी संवेदनशील मानिएको छ ।
मधेश प्रदेश प्रहरीका अनुसार रौतहटमा बागमती र लालबकैया नदीको बाढीका कारण गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती बढी प्रभावित हुन सक्ने क्षेत्रमा राखिएका छन् ।
धनुषामा कमला, जलाद र औरही नदीको बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, शहीदनगर, कमला र विदेह नगरपालिकाका विभिन्न क्षेत्रमा जोखिम बढ्न सक्ने प्रहरीको आकलन छ ।
त्यस्तै, सिरहामा कमला, बलान तथा स्थानीय खोलाबाट आउने बाढीका कारण सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र प्रभावित हुन सक्ने जनाइएको छ ।
सप्तरीमा सप्तकोसीसहित खाँडो, महुली, जिता र बलान नदी तथा खोलाको बहाव बढ्दा हनुमाननगर कंकालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजविराज आसपासका क्षेत्र जोखिमयुक्त मानिएको छ ।
सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीको बहाव बढ्दा बरहथवा, बलरा, गोडैता, कौडेना र बसबरिया क्षेत्र प्रभावित हुन सक्ने प्रहरीको भनाइ छ । महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीमा आउने बाढी तथा कटानका कारण जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा संवेदनशील क्षेत्रमा राखिएका छन् ।
बारा र पर्सामा भने चुरे क्षेत्रबाट बग्ने खोला तथा नदीमा अचानक आउने बाढी र कटानलाई मुख्य जोखिमका रूपमा लिइएको छ । बारामा पसाहा, दुधौरा, बालगंगा र तिलावे नदीको आकस्मिक बहावले कलैया तथा जीतपुरसिमरा क्षेत्रका तल्लो भूभागसँगै परवानीपुर र देवतालका केही बस्ती प्रभावित हुन सक्ने प्रहरीको भनाइ छ ।
पर्सामा ओरिया नदीको कटान तथा श्रीसिया र तिलावे नदीमा आउने बाढीका कारण जगरनाथपुर, धोबिनी, वीरगञ्ज र पोखरिया आसपासका क्षेत्र जोखिममा पर्न सक्ने प्रहरीले जनाएको छ ।




