काठमाडौं । आफूले समर्थन गरेको २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा नेता हृदयेश त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक तथा गम्भीर धारणा सार्वजनिक गर्नुभएको छ ।
उहाँले आन्दोलनका क्रममा भएको मानवीय क्षति, त्यसपछि देशभर देखिएको लुटपाट तथा आगजनी र त्यसबाट निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिबारे सरकारप्रति गम्भीर प्रश्न उठाउनुभएको छ ।
त्रिपाठीले आफूले समर्थन गरेको आन्दोलनको एक वर्ष पूरा भएको स्मरण गर्दै तत्कालीन राजनीतिक नेतृत्वको दम्भ र लोभका कारण अवस्था नरसंहारसम्म पुगेको आरोप लगाउनुभएको छ । उहाँले आन्दोलनका क्रममा करिब पाँच दर्जन युवाले ज्यान गुमाएको उल्लेख गर्नुभएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि देशभर लुटपाट तथा आगजनीका घटना भएको र निजी तथा सार्वजनिक सम्पत्तिसमेत ध्वस्त पारिएको भन्दै त्रिपाठीले राज्य मुकदर्शक बनेर आफ्नो दायित्व निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ ।
त्रिपाठीका लागि आन्दोलनबाट भएको क्षति राजनीतिक घटनाको स्मरणमा मात्र सीमित छैन, व्यक्तिगत पीडासमेत बनेको छ । उहाँले आफ्नो घर तथा बैंकबाट ऋण लिएर जेन्जी उमेरका आफ्ना छोराले स्थापना गरेको उद्योगसमेत लुटपाट र आगजनीबाट ध्वस्त पारिएको बताउनुभएको छ ।
उद्योग ध्वस्त हुँदा एक युवाको सपना चकनाचुर भएको र त्यसको प्रत्यक्ष असर सयौँ परिवारमा परेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार उद्योग बन्द हुँदा करिब तीन सय मजदुरले रोजगारी गुमाएका छन् भने केही सय किसानसमेत आफ्नो सुविधाबाट वञ्चित भएका छन् ।
आन्दोलनका क्रममा भएका घटनालाई सामान्य राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्न नसकिने टिप्पणी गर्दै त्रिपाठीले त्यसलाई पूर्ण आपराधिक क्रियाकलापको संज्ञा दिनुभएको छ । घटनाको छानबिनका लागि विभिन्न आयोग तथा समिति गठन भए पनि पीडितले भोगेको क्षतिको उचित सम्बोधन हुन नसकेको उहाँको गुनासो छ ।
उद्योग ध्वस्त भएपछि समेत आफूहरू बैंक ऋणको ब्याज तिर्न बाध्य भएको उल्लेख गर्दै त्रिपाठीले राज्यबाट कुनै प्रकारको राहत वा सुविधा प्राप्त नभएको बताउनुभएको छ । पीडित उद्योगी तथा व्यवसायीको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको उहाँको आरोप छ ।
नेपालमा उद्योग स्थापना गर्नु नै अपराधजस्तो बन्न पुगेको टिप्पणी गर्दै उहाँले देशमा वाणिज्य र बिचौलियाका लागि मात्र उपयुक्त वातावरण रहेको बताउनुभएको छ । उद्योग र निजी सम्पत्तिको सुरक्षा गर्न नसक्ने राज्यले विदेशी लगानी भित्र्याउने आधार कसरी तयार गर्न सक्छ भन्ने प्रश्न समेत उहाँले उठाउनुभएको छ ।
‘जुन राज्यले उद्योग र सिंहदरबार, सर्वोच्च अदालतको रक्षा गर्न असमर्थ छ, त्यस देशमा विदेशी लगानी कसरी र किन आउला ?’ भन्दै त्रिपाठीले सरकारको नीति, सुरक्षा व्यवस्था र लगानीको वातावरणप्रति गम्भीर प्रश्न गर्नुभएको छ ।
आफूले समर्थन गरेको भदौ २३ र २४ गतेको आन्दोलनबाट देशले ठूलो मानवीय तथा आर्थिक क्षति बेहोर्नुपरेको भन्दै उहाँले एक वर्ष बितिसक्दा पनि पीडितको घाउ निको हुन नसकेको संकेत गर्नुभएको छ ।
आफ्नो घर परिवारसँग जोडिएको उद्योग समेत ध्वस्त भएपछि रोजगारी गुमाएका मजदुर, प्रभावित किसान र आर्थिक संकटमा परेका परिवारप्रति समेत उहाँले पीडा व्यक्त गर्नुभएको छ ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै त्रिपाठीले अन्त्यमा, ‘बर्बादीको एक वर्ष पूरा भयो हाम्रो । फेरि पनि सरकारलाई शुभकामना’ भन्दै सरकारप्रति व्यंग्यात्मक असन्तुष्टि व्यक्त गर्नुभएको छ ।




