जनकपुर । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशपछि बारा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा गत असोज ६ गते देवताल गाउँपालिका ५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मुद्दामा अनुसन्धान अघि बढाइएको छ । हालसम्म सांसद सिंह वा अन्य प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएको छ ।
महतो देवताल गाउँपालिकामा सुपरभाइजर पदमा कार्यरत छन् । उनले गाउँमा हुने गलत गतिविधिको विरोध तथा विकास निर्माणका काममा सक्रियता देखाएकै कारण आफूलाई सामाजिक रूपमा बहिष्कार र अपमान गर्ने निर्णय गरिएको आरोप जाहेरीमा लगाएका छन् ।
जाहेरीअनुसार २०८१ साल कात्तिक २७ गते सांसद सिंहसहित अन्य व्यक्तिहरूको सहभागितामा आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको दाबी गरिएको छ । त्यसपछि आफू र परिवारका सदस्यलाई गाउँमा हुने विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको तथा सार्वजनिक र धार्मिक स्थलमा समेत बहिष्कार गर्ने प्रयास गरिएको महतोको आरोप छ ।
महतोले आफूविरुद्ध गाउँघरमा चरित्र र व्यक्तित्वमा आँच पुग्ने किसिमका कुरा प्रचार गरिएको तथा अपमानजनक व्यवहार गरिएको समेत जाहेरीमा उल्लेख गरेका छन् । घटनासँग सम्बन्धित प्रमाणका रूपमा सामाजिक बहिष्कारसम्बन्धी निर्णयको फोटोकपीसमेत प्रहरीमा बुझाइएको बताइएको छ ।
जाहेरीमा सांसद सिंहसँगै रामबाबुप्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पासवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोलाई विपक्षी बनाइएको छ ।
महतोका अनुसार गाउँमा विकाससम्बन्धी काममा केही व्यक्तिबाट अवरोध सिर्जना भइरहेको थियो । आफूले ती अवरोधका बाबजुद विकास निर्माणका काम अघि बढाउन पहल गरेपछि आफूमाथि सामाजिक बहिष्कारको निर्णय गरिएको उनको दाबी छ ।
स्थानीय तहको अध्यक्षदेखि संघीय सांसदसम्म
सांसद सिंहको राजनीतिक यात्रा स्थानीय तहबाट सुरु भएको हो । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
पछि रास्वपामा प्रवेश गरेका सिंह २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । हाल उनीविरुद्ध दर्ता भएको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मुद्दामा लगाइएको आरोपको कानुनी पुष्टि भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट हुने प्रहरीको भनाइ छ ।




