सर्लाही । नेपाली कांग्रेस सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा १५ औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयनलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको छ ।
क्षेत्रीय अधिवेशनमा सहमतिका नाममा प्रतिनिधि चयन गर्दा सुरेन्द्र सिंह र वीरेन्द्र सिंहनिकट व्यक्ति तथा परिवारका सदस्यलाई प्राथमिकता दिइएको भन्दै कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । स्थानीय नेताहरूले प्रतिनिधि चयनमा विभिन्न क्लस्टर तथा समुदायको समानुपातिक सहभागिता सुनिश्चित नगरिएको आरोप समेत लगाएका छन् ।
क्षेत्रीय अधिवेशनको उद्घाटनपछि निर्वाचनमा जाँदा पार्टीभित्र गलत सन्देश जाने भन्दै सहमतिमै प्रतिनिधि चयन गर्ने प्रयास गरिएको थियो । त्यसका लागि पाँच सदस्यीय समिति गठन गरी समितिले सिफारिस गरेका नामका आधारमा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको नाम केन्द्रमा पठाइएको बताइएको छ । विवाद उत्पन्न हुने आशंकाका कारण लामो समयसम्म नाम सार्वजनिक नगरिएको स्थानीय नेताहरूको भनाइ छ ।
स्थानीय कांग्रेस नेताहरूका अनुसार सिंह दाजुभाइले भूमिहार, राजपुत र ब्राह्मण समुदायसँगै आफ्ना नातागोता, कुटुम्ब तथा निकट व्यक्तिलाई महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति र प्रदेश कार्यसमितिका महत्वपूर्ण पदमा प्राथमिकता दिएको आरोप छ । अन्य समुदाय तथा समूहलाई महत्वपूर्ण जिम्मेवारीबाट वञ्चित गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
यसै विषयलाई लिएर आगामी जिल्ला अधिवेशन तथा स्थानीय र प्रदेशसभा निर्वाचनमा सिंह दाजुभाइलाई जवाफ दिने भन्दै केही नेता कार्यकर्ता छलफलमा जुटेको बताइएको छ । उनीहरूले सर्लाही ४ मा पार्टी संगठनलाई सीमित व्यक्तिको प्रभावबाट मुक्त गरिनुपर्ने माग समेत उठाएका छन् ।
सहमतिको आधारमा सर्लाही ४ बाट महाधिवेशन प्रतिनिधिका रूपमा कौशलकिशोर सिंह, किरणदेवी यादव, सुभद्रादेवी महतो, उषादेवी महतो, बेबी सिंह, सुरेन्द्रप्रसाद सिंह, रामाश्रयप्रसाद साह, उपेन्द्रप्रसाद कुशवाहा, वीरेन्द्रप्रसाद सिंह, केदारनन्दन चौधरी, मनिष मिश्र, श्यामसुन्दर यादव, रविनन्दन चौधरी, रघुवीर कार्की र कमलेश्वर सिन्हालगायतको नाम पठाइएको बताइएको छ ।
त्यस्तै शिवशंकर रिजाल, डा. जितेन्द्र मिश्र, निभाकुमारी साह, गौरव पाण्डे, सुधिरकुमार सिंह, धर्मेन्द्र सिंह, अजितकुमार सिंह, लक्ष्मी पासवान, दिनेश महतो, समी अख्तर खाँ, अभिनन्दन सहनी, अंशुकुमारी सिंह, किरणकुमारी शर्मा, विभा सिंह, मीनादेवी दास, अभयकुमार सिंह, लक्ष्मीनारायण महतो, ज्यानेन्द्र झा र दीपकप्रसाद साहको नाम पनि प्रतिनिधिका रूपमा समावेश गरिएको छ ।
स्थानीय कांग्रेस कार्यकर्ताहरूले प्रतिनिधि चयनमा सिंह दाजुभाइ निकट समूहको प्रभाव बढी रहेको दाबी गरेका छन् । यद्यपि, प्रतिनिधि चयनमा लगाइएका यी आरोपबारे सिंह दाजुभाइको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
यसैबीच, सुरेन्द्रप्रसाद सिंह यसअघि कांग्रेस सर्लाहीका जिल्ला सभापति थिए । मनुष्मारा सिँचाइ आयोजनासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको विवरण सार्वजनिक स्रोतहरूमा उल्लेख छ । त्यसपछि उनले जिल्ला सभापतिको पदबाट राजीनामा दिएका थिए ।
सर्लाही ४ मा वीरेन्द्र सिंह कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् भने पछिल्लो समय यो क्षेत्रमा सुरेन्द्र–वीरेन्द्र सिंह दाजुभाइको राजनीतिक प्रभावबारे विभिन्न सञ्चारमाध्यममा चर्चा हुँदै आएको छ ।




