जनकपुरधाम । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई अनुबन्ध गरेको छ । मोइन अली यस सिजन जनकपुर बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् ।
यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ । बायाँ हाते ब्याटर तथा अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल पुस्ताका महत्वपूर्ण सदस्य हुन् ।
उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जितेको इंग्ल्यान्ड टोलीमा थिए । त्यस्तै, सन् २०२२ मा अस्ट्रेलियामा भएको टी-२० विश्वकप जित्दा उनी इंग्ल्यान्ड टोलीका उपकप्तान थिए । मोइनले इंग्ल्यान्डका लागि तीनै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
उनी टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने सीमित इंग्लिस खेलाडीमध्ये एक हुन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको कप्तानीसमेत गरिसकेका छन् । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा भने सक्रिय छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सबाट खेल्दै उनले सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए । जनकपुर बोल्ट्समा आबद्ध भएपछि मोइनले नेपाली क्रिकेटको माहोल प्रत्यक्ष अनुभव गर्न आफू उत्साहित रहेको बताएका छन् ।
‘नेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु । अब त्यो अद्भुत माहोल आफैं अनुभव गर्न आतुर छु । बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ। म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,’ उनले भने ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मोइन अलीको अनुबन्धनलाई मधेशका क्रिकेट प्रेमीका लागि विशेष उपहार भएको बताएका छन् ।
‘अलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो । यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ । तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो । यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ,’ खतिवडाले भने ।




