रौतहट । रौतहटको कटहरियामा घरछेउको कोठाभित्र ह्यान्डल लक गरेर राखिएको मोटरसाइकल चोरी भएको छ । कटहरिया नगरपालिका ३ बरेडवास्थित नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालको घरबाटै मोटरसाइकल चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जैसवालका अनुसार ना ५२ प ३४८१ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल शुक्रबार राति सधैँझैँ घरछेउमा रहेको अतिथि कोठामा राखिएको थियो । मोटरसाइकलको ह्यान्डल लक गरेर राति करिब ११ बजे सुतेका उनी शनिबार बिहान ८ बजेतिर बाहिर जान खोज्दा मोटरसाइकल नभेटिएपछि मात्र चोरी भएको थाहा पाएका थिए ।
सुरक्षित ठानेर घरभित्रै राखिएको मोटरसाइकल नै हराएपछि स्थानीयवासी सशङ्कित बनेका छन् । घरभित्रको कोठाबाटै मोटरसाइकल कसरी गायब भयो भन्ने विषयमा चासो र चिन्ता बढेको छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । प्रहरीका अनुसार चोरी भएको मोटरसाइकलको खोजी तथा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि तीव्र अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहले मोटरसाइकल चोरी भएको पुष्टि गर्दै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।
नगर कार्यपालिका सदस्यकै घरबाट मोटरसाइकल चोरी भएपछि सर्वसाधारणका सवारीसाधनको सुरक्षामाथि प्रश्न उठेको छ । प्रहरीले चोरी भएको मोटरसाइकल बरामद गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कस्तो कदम चाल्छ भन्नेमा स्थानीयको चासो रहेको छ ।




