वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका २ गोडपसराबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको काठसहित एउटा पिकअप गाडी बरामद गरेको छ । प्रहरीले काठ ओसारपसारमा संलग्न रहेको आरोपमा पिकअप चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय एकटाँगा र प्रहरी चौकी मनवाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार राति करिब २ बजे काठसहित पिकअप र चालकलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक मनोज यादव र प्रहरी चौकी मनवाका प्रहरी सहायक निरीक्षक ऋषिराम भट्टराईको नेतृत्वमा खटिएको टोलीले ना ५ त १२५४ नम्बरको पिकअपबाट सात थान सालका गोलिया बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विन्ध्यवासिनी कोइलाभार साझेदारी वनअन्तर्गत छतवनटाँडी र बडनिहार आसपासका जङ्गलबाट सालका रूख अवैध रूपमा कटान गरी गोलिया बनाइएको थियो । ती काठ फर्निचर उद्योगतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा पर्सागढी नगरपालिका २ छतवनटाँडी निवासी पिकअप चालक केदार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएका सात थान सालका गोलिया, पिकअप गाडी र चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय एकटाँगामा राखिएको छ ।
इलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक मनोज यादवका अनुसार घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काठ, गाडी र चालकलाई डिभिजन वन कार्यालय, पर्सामा बुझाइनेछ ।




